प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : जानकारीमूलक
गण्डकी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय लमजुङको निरीक्षण
२०७९-०४-०९

साउन-०९, पोखरा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय लमजुङको स्थलगत अवलोकन, निरीक्षण गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालय लमजुङमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रविधिमैत्री र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन गर्नुभएको छ । निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।

गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण ।
२०७९-०३-२३

पोखरा, असार-२३ गतेनेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७९।०३।१९ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन भई आउनु भएका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ । सोही अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीलाई स्वागत गर्नुभई प्रदेश अन्तर्गतको शान्ति सु-व्यवस्थाका विषयमा संक्षिप्त जानकारी समेत गराउनुभएको थियो । कार्यक्रम पश्चात गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेका विभिन्न शाखाहरु निरीक्षण गरी उक्त शाखाहरुबाट सम्पादन हुने कार्यहरुको जानकारी समेत लिनुभयो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराका समादेशक दिल्लीराज पन्त लगायत पोखरा उपत्यका स्थित प्रहरी कार्यालयहरुका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

खोचबाट उद्दार तथा प्राथमिक उपचार नमुना अभ्यास सम्पन्न ।
२०७९-०३-०७

असार-०७, पोखरा कास्कीगण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजनामा केही विशेष काम र आत्महत्याको शिलशिलामा खोच वा भिरमा फसेका घाईते तथा मृतकको उद्दार सम्बन्धी सिमुलेशन अभ्यास सम्पन्न भएको छ । आजभोली सर्वाधिक चलेको मोबाईल टिकटक बनाउन पनि खोच वा भिरमा फस्ने घटनाहरु भएको पाईन्छ । यस्ता गलत काम नगर्न सन्देश दिदै त्यस्ता घटना भईहाले नेपाल प्रहरी, सशस्‍त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा पूर्व तयारी अभ्यासको डेमो प्रस्तुत गरिएको हो । विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन गरीएको उक्त कार्यक्रम गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री विश्वकर्माले प्रहरीद्वारा विपद् उद्दारका कार्यहरुको उच्च मूल्यांकन गरिरहेको बताउँदै उत्कृष्ट सिमुलेशन प्रदर्शन गरेकोमा धन्यवाद प्रकट गर्नु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्ण हरी शर्माले कार्यक्रम सफल बनाउन खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दै विपद् जुनसुकै बेला आउन सक्ने भएकोले प्रहरी कर्मचारी २४ सैं घण्टा तयारी अवस्थामा रहन निर्देशन दिनु भएको थियो । वर्षाको समयमा बढी पहिरो लगायत अन्य प्रकारका विपद्‍मा त्यस्ता ठाँउमा जान अझ बढी खतरा हुन्छ । आम नागरिकहरूले विपद्को समयमा के गर्ने, विपदको समयमा सम्बन्धित निकाय बीच कसरी समन्वय गर्ने र विपद्लाई कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । विवाहको लागि घर परिवारले सहमति नदिए पछि भिरबाट हाम फाली आत्महत्या प्रयास गरेका एक प्रेमि जोडीको उद्दार गरी अस्पताल पठाईएको कथा वस्तुलाई नाटकिय रुपमा प्रस्तुत गरीएको थियो ।

गण्डकी प्रदेश प्रहरी चौमासिक समिक्षा एवं सुरक्षा गोष्ठी-२०७८ सम्पन्न ।
२०७८-०८-२४

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा र मातहतमा रहेका सम्पूर्ण प्रहरी कार्यालय तथा ईकाईहरुको गतिविधि तथा प्रहरी कार्य र समग्र गण्डकी प्रदेशको सुरक्षाको विषयमा “गण्डकी प्रदेश प्रहरी चौमासिक समिक्षा एवं सुरक्षा गोष्ठी-२०७८” गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी ज्युको अध्यक्षतामा यही मंसिर २४ गते सम्पन्न भएको छ ।उक्त कार्यक्रममा गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान प्रगति, जिल्लास्तरमा शान्ति सुरक्षाका लागि चालिएका कदमहरु, देखिएका समस्या र समाधानका लागि गर्नुपर्ने प्रयासहरुका विषयमा समिक्षा तथा अन्तरक्रिया गरीएको छ । कार्यक्रमको उद्‍घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले पानसमा दिप प्रज्वलन गरी गर्नु भएको थियो । उद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख सचिव पन्थले समग्र प्रहरी कार्यलयहरुले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुहुदै सरकारको प्रत्यक्ष उपस्थिती भनेकोनै प्रहरी संगठन भएकोले संयमित भएर कार्य सम्पादन गर्न तथा जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन नागरीकमैत्री सेवा प्रवाहमा जोड दिदै भौतिक पुर्वाधार तथा व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै प्रमुख अतिथि ज्युलाई धन्यवाद ज्ञापन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको विषयमा प्रहरी संबेदनशील भएर लाग्नुपर्ने, प्रहरीको प्रमुख दायित्व जनताको पिर मर्कामा साथ र सहयोग भएकोले मन वचन र कर्मले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित प्रहरी कार्यालयका प्रमुखहरुलाई प्रहरी नायव महानिरीक्षक लोहनीले कानून कार्यान्वयन गर्ने सवालमा कतिपनि सम्झौता नगरी महिला, बालबालिका र समाजमा उत्पिडित वर्गलाई विशेष प्राथमिकतामा राख्दै जन धनको सुरक्षाको लागि अहोरात्र खटिई कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा प्रदेश मातहतका सबै जिल्ला प्रहरी कार्यालय तथा प्रदेश स्तरका अन्य प्रहरी ईकाईका प्रहरी प्रमुखहरुले आ-आफ्नो कार्यालयमा भए गरेका प्रहरी गतिविधी, शान्ति सुरक्षाको अवस्था तथा जनशक्ति व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने प्रदेश प्रहरी कार्यालयको तर्फबाट गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले गण्डकी प्रदेशको अपराध नियन्त्रण तथा अनुसन्धान, समग्र शान्ति सुरक्षाको अवस्था, चुनौती तथा आगामी कार्ययोजना लगायतको विषयमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । हालसम्म गण्डकी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको विश्लेषण गरी कार्यक्रम समापन भएको थियो । 

नेपाली सेनाका प्रशिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०७८-०८-१३

नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको कमाण्ड तथा स्टाफ तालिमका प्रशिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका प्रशिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी उपरीक्षक अरुण पौडेलले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना सँगको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । यसका साथै शैक्षिक भ्रमणमा रहेका प्रशिक्षार्थीहरु संग गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले मायाको चिनो आदान प्रदान गर्नुभएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा कुकुर पुजा सम्पन्न
२०७८-०७-१७

कार्तिक १७, यमपञ्चको दोस्रो दिन अर्थात कुकुर पुजाको अवसरमा नेपाल प्रहरीको अनुसन्धान प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका तालिम प्राप्त कुकुरहरुको आज विधिवत पुजा गरिएको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी समेतको उपस्थिति रहेको पुजा कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाइन शाखामा रहेका कुकुरहरुको पुजा गरी मिठा मिठा परिकारहरु समेत खुवाइएको छ ।कुकुर एक कुशल आज्ञापालक एवं रक्षक साथै विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने र अध्ययन–अनुसन्धान गर्ने कार्यमा समेत अहम भूमिका निर्वाह गर्ने जनावर हो । साथै उक्त कुकुर शाखाका ईन्चार्ज प्रहरी नायव निरीक्षक विक्रम कुमार थापाले कुकुरहरुलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरु प्रदान गर्नुभएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखामा हाल ०७ वटा विभिन्न विधामा तालिम प्राप्त कुकुरहरु सेवारत रहेका छन् ।