कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न : पोखरा, भाद्र २७

गण्डकी प्रदेश अन्तर्गत नेपाल प्रहरीबाट सम्पादन हुने विभिन्न गतिविधिहरुलाई थप व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसंग गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको “१ वर्षे कार्ययोजना-२०७८/०७९” सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक लोहनीले गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भरत बहादुर बोहरा, दंगा नियन्त्रण प्रहरी गण तनहुँका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकाल, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेल साथै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक दिनेश राज मैनाली, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराका प्रमुख प्रहरी नायव उपरीक्षक डा. नर्मन लामिछानेसंग कार्य-सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
साथै उहाँले प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालय (नवलपरासी (पूर्व), गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ र मनाङ) र विपद् व्यवस्थापन गुल्म बाग्लुङसँग समेत भिडियो कन्फेरेन्स मार्फत कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहँदै प्रहरी नायव महानिरीक्षक लोहनीले नेपाल प्रहरीले विगत देखी नै सम्पादन गर्दै आईरहेका विविध गतिविधिहरुलाई थप परिस्कृत र व्यवस्थित बनाउन लक्ष्य निर्धारण गरी कार्यसम्पादन सम्झौता अनुरुप काम गर्दा संगठनको सुदृढिकरण साथै परिणाममुखी प्रहरी सेवा प्रवाह गर्न मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै सम्पूर्ण कार्यालयहरुले कार्ययोजना अनुरुपको कार्य-सम्पादनमा दृढताका साथ लाग्न लगाउन समेत उहाँले निर्देशन दिनुभयो ।
साथै, कार्यसम्पादनका क्रममा सेवाग्राहीलाई आचरणयुक्त र शिष्टताका साथ व्यवहार गर्न गराउन निर्देशन दिनुहुँदै प्रहरीबाट हुने कुनै पनि गैह्र व्यवासयीक, अमर्यादित र अपारदर्शिताका विषयहरु क्षम्य नहुने बताउनुभयो ।
शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउने लगायतका १३ वटा लक्ष्य निर्धारण गरी नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर अभिवृद्धि गर्ने अभिप्रायका साथ कार्य-सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
यस अघि नै संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीबाट “कार्य सम्पादन सम्झौता पत्र २०७८” मा समेत प्रदेश प्रहरी प्रमुखसंग हस्ताक्षर भइसकेको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी. लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

DPO Kaski 2DPO Kaski 4

DPO Kaski 3