प्रहरी महानिरीक्षक ज्ञवालीद्वारा प्रहरी कार्यालय भवन उद्‌घाटन सम्पन्न (मिति २०७७।०३।२० गते) :

संगठन प्रमुख प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) को नव-निर्मित कार्यालय भवन तथा ब्यारेक भवनको एक समारोहका बिच उद्‌घाटन गर्नुभएको छ।
प्रहरी संगठनलाई भौतिक संरचनाहरुमा आत्मनिर्भर बनाई सरल तथा जनपेक्षित प्रहरी सेवा प्रदान गर्ने आधार स्तम्भहरु निर्माण गर्न नेपाल प्रहरी संगठनको नियमित बजेटबाट ब्यारेक भवन निर्माण भएको हो भने UNOPS को आर्थिक सहयोगमा कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।
सोहि अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले शिलालेख अनवारण गरि कार्यालय भवन तथा ब्यारेक भवनको उद्‌घाटन गर्नुभई उक्त नव-निर्मित भवनहरु साथै कार्यालय परिसरको समेत निरीक्षण गर्नुभएको छ ।
भवन उद्‌घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले कुनै पनि भौतिक संरचनाहरु जनमुखी, पारदर्शी तथा व्यवसायीक प्रहरी सेवा सम्पादनको निर्धारक नभएपनि निर्माण सम्पन्न सुविधायुक्त भवनहरुबाट प्रहरी कर्मचारी तथा सेवाग्राही नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको बताउँदै नव-निर्मित सुन्दर भवनहरुबाट नागरिक मैत्री प्रहरी सेवा प्रदान हुने विश्वास लिनुभयो ।
साथै सकरात्मक सोच, निश्पक्ष व्यवहार, आचरणयुक्त तथा प्रविधियुक्त प्रहरी कर्मचारीबाट मात्रै नेपाल प्रहरी संगठनको उदेश्य पुरा हुने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरु देश तथा नागरिक प्रति समर्पित भई कार्यक्षेत्रमा खटिई विकृती विसंगती विरुद्ध जनचेतना फेलाउँदै स्थानीय तह तथा नागरिकसंग हातेमालो गरी परस्पर सम्बन्ध स्थापित गर्दै शान्त तथा सु-संस्कृत समाज निर्माण अभियानमा कटिवद्ध हुन आवश्यक रहेको बताउनु भएको छ ।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रहरी माहनिरिक्षक ज्ञवाली लगायत उपस्थीत अन्य महानुभावहरुमा कृतज्ञता व्यक्त गर्दै गण्डकी प्रदेश अन्तर्गत शान्ति सुरक्षाको अवस्थालाई चुस्तदुरुष्त राख्न कुनै कसर बाकी नराख्ने बताउँदै यस कोरोना महामारीको विषम परिस्थितिबाट थप क्षती हुन नदिन सम्बन्धीत सरोकारवाला निकायहरुसंग समन्वय गरि अगाडी बढिरहेको जानकारी गराउनुभयो ।
भवन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी कार्यालयका टिएसटि प्रमुख प्रहरी निरीक्षक निरञ्जन कुमार सिंहले RCC फ्रेम स्ट्रकचरमा निर्माण सम्पन्न भएको उक्त ब्यारेक भवन १ करोड ९१ लाख १६ हजार ८ सय ८७ रुपैयामा निर्माण सम्पन्न भएको बताउँनुभयो ।
कावासोती नगरपालिकाका प्रमुख चन्द्रा कुमारी पुन, प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर खत्री, नवलपरासी (पूर्व) प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक रेग्मी लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक ज्ञवालीद्धारा भवन निर्माण कार्यमा सहयोहग गर्ने व्यक्ति तथा प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।

NP Building 1

NP Building 4

NP Building 2

NP Building 3